दोस्रो संस्करणको आइसिसी यू-१९ महिला विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।
शुक्रबार मलेसियाको क्वालालम्पुरमा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ९ विकेटले पराजित गर्दै भारतले दक्षिण अफ्रिकासँग उपाधि भिडन्त पक्का गरेको हो ।
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।
दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले दिएको ११४ रनको लक्ष्य भारतले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । भारतका लागि ओपनर कामलिनीले नटआउट ५६ रन जोडिन् । त्यसक्रममा उनले ८ चौका प्रहार गरिन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय १३ रन मात्र जोड्न सक्यो । इंग्ल्याण्डका लागि ओपनर डाभिना परर्रिनले ४५ रन बनाइन् । बलिङमा भारतकी पारुनिका सिसोधिया र वैष्णभी शर्माले ३-३ विकेट लिए ।
अब उपाधिका लागि भारत र दक्षिण अफ्रिका आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
