ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा चर्च बोइज युनाइटेडले जित हात पार्दा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले रोमाञ्चक बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा चर्च बोइजले फेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो ।

चर्च बोइजको जितमा सौरभ भुजेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । सौरभले खेलको ९०औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा रमेश महर्जनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो ।

लगातार दुई जितपछि ६ अंक जोडेको चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको फ्रेन्डसको समान खेलबाट तीन अंक छ । चर्च बोइजले पहिलो खेलमा संकटा क्लबलाई पराजित गरेको थियो भने फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो ।

एन्फा कम्प्लेक्समै मंगलबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।

हिमालयन शेर्पा क्लबले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा हिमालयन शेर्पाका सुजन स्याङ्तान ह्याट्रिक गरे । पुलिसका लागि समीर राईले दुई र समीर कुँवरले एक गोल गरे ।

हिमालयन शेर्पाका लागि सुजनले खेलको २७औं मिनेट गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै पुलिसका समीर कुँवरले ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर पहिलो हाफको इन्जुरी समयमा सुजनले ब्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पा २-१ ले अघि बढ्यो । तर, ४९औं मिनेटमा समीर राईले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ७६औं मिनेटमा सुजनले ह्याट्रिक पूरा गर्दै शेर्पालाई ३-२ को अग्रता दिलाए । तर त्यसको २ मिनेटपछि नै समीर राईले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै दुई खेलमा चार अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । हिमालयन शेर्पाकाे समान खेलबाट एक अंक छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ७-० ले पराजित गर्दा हिमालयन शेर्पाले मछिन्द्र फुटबल क्लबसँग ५-० को हार बेहोरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *