फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा सखद सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई २-० गोलले हरायो । अर्को खेलमा विभागीय टोली पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै फ्रेन्ड्स र पुलिसले तीन-तीन अंक जोडेका छन् ।
फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान एक-एक गोल गरे । खेलको पहिलो मिनेटमै रिहानले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा दिवानले फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रेन्ड्सले विजयी सुरुआत गर्यो ।

यसैगरी आर्मीविरुद्ध शानदार जित हात पारेको पुलिसका लागि कप्तान समीर राईले ह्याट्रिक पूरा गरे भने रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक-एक गोल गरे ।
खेलको ४३औं मिनेटमा सविनले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । रिजनले ५४ र ५७औं मिनेटमा गोल गर्दा पुलिस ३-० ले अगाडि बढ्यो । समीर कुमारले ६१औं मिनेटमा पुलिसका लागि चौथो गोल गरे । कप्तान समीरले ७३ र ७४औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लिगमा याे पहिलाे ह्याट्रिक हाे ।
