केराबारी । तेस्रो मच्छिन्द्र फुटबल कपको उद्घाटन खेलमा पानवारी फुटबल क्लब धरानले रारा फुटबल क्लब धनकुटालाई १-० गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।

केराबारी-८ स्थित केराबारी रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा धरान विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरानको जितमा अर्जुन लिम्बुले निर्णायक गोल गरेका थिए । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए । खेलको निर्धारित समयसम्म धनकुटाले जबाफी गोल फर्काउन सकेन ।

खेलको मेन अफ दि म्याच धरानका अर्बिन राई घोषित भए । उनले रु ५ हजार नगद पुरस्कार प्राप्त गरे । आइतबार आयोजक केराबारी फुटबल क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच खेल हुनेछ ।

तेस्रो मच्छिन्द्र फुटबल कपको औपचारिक उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरद्वारा भएको थियो । प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *