ललितपुर । एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेका थिए । प्रतिस्पर्धात्मक खेलमा २३औं मिनेटमा पुलिसका लागि पूजा रानाले गरेको गोलले मान्यता पाएन ।
गोल गर्ने क्रममा पूजाले गोलकिपर अन्जनालाई फल गरेको भन्दै अम्पाएर नविन्द्र महर्जनले गोललाई मान्यता दिएनन् ।
उक्त गोल नदिएपछि पुलिसका खेलाडीले विरोध गर्दै मैदान छाडेका थिए । करिब २५ मिनेटको अवरोधपछि पुलिसका खेलाडी मैदान फर्किएका थिए ।
