सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता बागमती – ४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङशालामा हुने आयोजकले जनाएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताए । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगितामा ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताए ।

फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । अध्यक्ष घलानले व्यवसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पाए । यस अघिको छैटौ संस्करणको उपाधी मछेन्द्र युथ क्लले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *