आर्सनललाई ट्राइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथौं चरणमा प्रवेश गरेको छ ।
आईतवार राति भएको तेस्रो चरणको खेलमा घरेलु टोली आर्सनललाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा युनाइटेडको तर्फबाट कप्तान ब्रुनो फर्नान्डेज, एमड डियालो, लिने योरो, लिसान्ड्रो मार्टिनेज र जोसुआ जिर्क्जीले गोल गरेका थिए । आर्सनलका मार्टिन ओडिगार्ड, डिक्लेन राइस र थोमस पार्टीले गोल गरे ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
युनाइटेडले ५२औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो । तर, ६१ औं मिनेटमा डिएगो ड्यालोटले दोहोरो पँहेलोसँगै रातो कार्ड खाँदा युनाइटेड १० खेलाडीमा समेटियो ।
त्यसको फाइदा उठाउँदै ६३औं मिनेटमा ग्राबियलको गोलमा आर्सनलले खेललाई १–१ को बराबरीमा ल्यायो । यता, ७२औं मिनेटमा आर्सनलले अग्रता लिने सुनौलो अवसर गुमायो । मार्टिन ओडिगार्डको पेनाल्टी प्रहार युनाइटेडका गोलरक्षकले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १-१ गोलको बराबरीमा सकियो ।
अब युनाइटेडले चौथौं चरणमा लेस्टर सिटीको सामना गर्नेछ ।
आइतबार रातिनै भएको तेस्रो चरणका अन्य खेलमा टोटनहमले टामवर्थलाई ३–०, क्रिस्टल प्यालेसले स्कटपोर्टलाई १–०, इपस्विच टाउनले ब्रिस्टल रोबर्सलाई ३–० र न्युकासल युनाइटेडले ब्रोमलीलाई ३–१ ले हराउँदै चौथो चरणमा स्थान बनाएका छन् ।
