धरान । पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधि जितेको छ ।
शुक्रबार डिपो स्कुलको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक डिपो स्कुल रेड टिमलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पुलिस स्कुलले उपाधि रक्षा गरको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पुलिस स्कुलका विनायक निरौला, मणिकुमार लिम्बू, अङ्सु बास्फोर र नियुस खड्काले गोल गरे । डिपो स्कुलका कुशल राई र करण खड्काले मात्र गोल गर्न सके ।
विजेता बनेको पुलिसले उपाधिसहित ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले डिपो स्कुलले ७ हजार १ सय ११ र तेस्रो भएको इमानुयलले ५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।
डिपो स्कुलको आयोजनामा गत पुस १२ गतेदेखि सुरु भएको १९औं अम्बर ललित डिपो कपमा कुल १६ वटा बिधालयका फुटबल टिमहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ५ सम्मका बिद्यार्थीहरु मात्रै सहभागी भएका थिए ।
