हेटौंडा । हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको चित्लाङ फुटबल क्लबले जितेको छ ।
हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रङ्गशालामा भएको फाइनल खेलमा दोलखाको टाइगर टिम तिखाताललाई ३-० गोलले हराउँदै काठमाडौँ च्याम्पियन बनेको हो ।
काठमाडौँको जितमा सुजित बुढाथोकीले दुई तथा आयुष कुँवरले एक गोल गरे ।
सुजितले टिमका लागि २५औं र ७४औं मिनेटमा गोल गरेका थिए भने काठमाडौँका लागि तेस्रो गोल आयुषले खेलको अन्तिम समयमा गरेका थिए ।
खेलको म्यान अफ म्याच दुई गोलकर्ता सुजित बुढाथोकी घोषित भए । उनले ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता काठमाडौँले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दोलखाले १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी काठमाडौँका सुजित बुढाथोकी भए । उनले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको हाई स्कोरको उपाधि पनि बुढाथोकीले नै जिते ।
