१० खेलाडीमा सिमित बनेको रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । भिनिसियस जुनियरले रातो कार्ड पाए पनि रियलले घरेलु टोली भ्यालेन्सियामाथि २-१ को पुनरागमन जित निकालेको हो ।
जितसँगै रियलले १९ खेलबाट ४३ अंक बनाएको छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिड १८ खेलबाट ४१ अंक रहेको छ । पराजित भएको भ्यालेन्सिया भने रेलिगेशन जोनमै रहेको छ ।
रियलको जितमा लुका मोड्रिच र जुड बेलिङ्गमले गोल गरे । यता, ह्यूगो डुरुले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २७ औं मिनेटमा ह्युगो डुरुले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा जुड बेलिङ्गम पेनाल्टीमा चुक्दा मड्रिड खेलमा फर्किन सकेन ।
खेलको ७१औं मिनेटमा फरवार्ड भिनिसियस जुनियरले रातो कार्ड खाँदा मड्रिड १० खेलाडीमा समेतियो । भ्यालेन्सियाका गोलरक्षक स्टोले डिमित्रिएभ्स्कीलाई चड्कन हानेको आरोपमा भिनिसियसलाई रातो कार्ड दिएको थियो ।
तर, ८५ औं मिनेटमा बेलिङघमको पासमा लुका मोड्रिचले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । इन्जुरी समयमा बेलिङघमले गोल गर्दा रियल २-१ ले विजयी भयो ।
