नेपालको पुरूष टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ अंकको अन्तरले हराउँदै नेपाल क्वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।
त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो ।
अब भुटानले भारतसँग खेल्न बाँकी छ । उक्त खेलपछि दुईमध्ये एक टोली क्वाटरफाइनलमा पुग्ने छन् ।
महिलातर्फ पनि नेपालले लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा आजै बंगलादेशको सामना गर्दैछ ।
पहिलो खो-खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, ब्राजिल र पेरु छन् । महिलातर्फ समूह ‘सी’ मा नेपालसँगै भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् ।
महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।
