काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा साविक विजेता लिभरपुल टोटनहम हट्स्परसँँग १-० ले पराजित भएको छ ।
बुधबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन १८ वर्षीय युवा खेलाडी लुकास बर्गभालले निर्णायक गोल गरे । उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए ।
यो हारसँगै लिभरपुलको सबै प्रतियोगितामा २४ खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ । यो सिजन लिभरपुलको यो मात्र दोस्रो हार हो ।
टोटनहम हट्स्परका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले क्लबका युवा खेलाडीहरूलाई ठूलो भरोसा गरेका छन् ।
टोटेनहमका १८ वर्षीय दुई खेलाडीहरू, लुकास बर्गवाल र आर्ची ग्रेलेले लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । यसैगरी, २१ वर्षीय गोलकिपर एन्टोनिन किन्स्कीले आफ्नो डेब्युमा उत्कृष्ट प्रदर्शन गर्दै टोटनहमलाई ६ खेलपछि पहिलो पटक क्लिन सिट दिलाए । आइतबारमात्रै स्लाभिया प्रागबाट गोलकिपरको रुपमा टोटनहममा आएका एन्टोनिन किन्स्कीले खेलमा उत्कृष्ट बचाउहरू गरेका थिए ।
अर्को सेमिफाइनलमा न्युक्यासलले आर्सनलविरुद्ध पहिलो लेगमा २–० को अग्रता लिएको छ ।
अब टोटेनहम र लिभरपुल बीचको दोस्रो लेग फेब्रुअरी ७ मा लिभरपुलको मैदानमा हुनेछ ।
