एन्फा महिला लिगको अन्तिम चरणमा आज बहुप्रतिक्षित खेल हुँदैछ ।
विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ । साविक विजेता एपीएफ र पुलिसबीचको खेल आज दिउँसो ३ बजे देखि सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सुरु हुनेछ ।
पछिल्ला दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको छ । उपाधिको बलियो दाबेदार एपिएफको वास्तविक परीक्षा आज नै हो । बागमती युथ क्लब र वालिङ नगरपालिकाविरुद्ध आक्रामक खेल प्रस्तुत गरेको एपिएफ विभागीय प्रतिद्वन्द्वीविरुद्ध पनि यही रणनीतिअनुसार मैदान उत्रने योजनामा छ ।
‘पुलिस र आर्मी दुवै राम्रा टोली हुन् । जसरी हामीले यो लिगमा खेल्दै आएका थियौं, त्यसरी नै खेल्ने योजना छ,’ एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे भने ।
एपिएफले पछिल्लो खेलमा वालिङविरुद्ध ९-० को फराकिलो जित निकालेको थियो। लिगको सर्वाधिक गोलकर्ताको दौडमा शीर्षस्थानमा रहेकी रश्मिकुमारी घिसिङले दोस्रो चरणको पहिलो खेलमा बागमतीविरुद्ध ह्याट्रिक गरेकी थिइन् । यो लयलाई रश्मिले दोस्रो खेलमा पनि निरन्तरता दिइन्। यसपालि उनले चार गोल गरिन् ।
पुलिस जारी लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो। राष्ट्रिय टोलीकी वैकल्पिक गोलकिपर उषा नाथ अहिलेसम्म ‘बिट’ भएकी छैनन् । एपिएफ फरवार्डलाई पुलिसको यो लय तोड्ने चुनौती हुनेछ । यसका लागि उनीहरूले राष्ट्रिय टोलीका सिनियर खेलाडी अमृता जैसीको रक्षापंक्ति तोड्नुपर्ने हुन्छ। अमृतालाई राष्ट्रिय टोलीका अर्की सदस्य समिक्षा घिमिरेले साथ दिइरहेकी छन् ।
बलियो एपिएफविरुद्ध प्रशिक्षक भोलानाथ सिलवालले जित निकाल्ने योजना रहेको सुनाए । पहिलो चरणमा पुलिसले एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । यसपालि पनि प्रशिक्षक सिलवाल एपिएफलाई जित्न नदिने दाउमा छन् ।
