पहिलो पटक नेत्रहीन टि-२० विश्वकपको सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
आइतबार मुल्तानमा भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरीएको हो ।
पाकिस्तानले समूह चरणमा पनि नेपाललाई १० विकेटले हराएको थियो । यसैगरी नेपालले लिग चरणमा श्रीलंकासँग ७० र बंगलादेशसँग ६७ रनले पराजित भएको नेपालले अफगानिस्तालाई १०८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।
नेपालले प्रस्तुत गरेको ९८ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । पाकिस्तानका लागि कम्रन अख्तरले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले ६३ रन बनाए । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दुर्गादत्त पौडेलले ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन तथा बाबर मुनिरले एक विकेट लिए ।
नेपालले २०१२ मा पहिलो पटक विश्वकप खेलेयता पहिलो पटक सेमिफाइनलको यात्रा गरेको हो । त्यसयता तीन पटक विश्वकप खेलेपनि सेमिफाइनल प्रवेश गर्न सकेको थिएन् । यद्यपि चौथो पटक भने सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
