काठमाडौं । हिमालय चेस एकेडेमीले आयोजना गरेको हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आज निसर्ग बाटिका स्कुलका आयान जोशी र शिखर स्कुलकी नायुमा मगर च्याम्पियन भएका छन् । उनिहरु आज सम्पन्न भएको यु–१४ समूहको क्रमशः छात्र तथा छात्रा विधामा प्रथम भएका हुन् ।
एकेडेमीले अश्विन २५ गतेदेखि यु–६ तथा यु–८ विधाबाट सुरु गरेको प्रतियोगितामा आज उमेर समूहको अन्तिम विधा यु–१४ सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ निसर्ग बाटिका स्कुलमै अध्ययनरत सात्वीक मान तुलाधर ४.५ अंकका साथ दोस्रो हुन सफल भए । आयानसँग समान अंक भए तापनि तुलाधर बुकोल्ज ट्राइब्रेकरका कारण दोस्रो हुन बाध्य भए । यसै गरि ३.५ अंक प्राप्त गर्दै संस्कृति इन्टरनेशनल स्कुलका संभव थुलुङ्ग तेस्रो भए ।
त्यसैगरि २.५ अंकका साथ मार्भलस स्कुलकि सुहानी सिंह दोस्र्रो हुँदा काष्ठमण्डप स्कुलकी छात्रा सहस्रा क्षत्री तेस्रो भइन् । हिमालयन जुनियर चेस च्याम्पियनसिपको ग्रान्ड फिनाले यहि मङ्सिर १३ गते सञ्चालन हुनेछ जसमा विभिन्न उमेर समूहमा उत्कृष्ट ३ हासिल गर्ने खेलाडीहरुले सहभागिता जनाउने छन् ।
