नेपाल प्रिमियर लिग (एनपिएल) सिजन– ३ मा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर रिजन ढकालले कार र मोटरसाइकल दुवै पुरस्कार प्राप्त गरेका छन् ।
एनपिएलको सिजन– ३ मा रिजनले ८ खेलबाट सर्वाधिक १७ विकेट लिएका थिए । रिजनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एण्ड जाएको कार पाएका हुन् भने उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पाएका हुन् ।
यस्तै, विराटनगर किंग्सका लोकेश बम उत्कृष्ट ब्याटर घोषित भएका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी लोकेशले ७ खेलमा २ अर्धशतकसहित २ सय ४६ रन बनाएका थिए । उनले पुरस्कारस्वरूप पल्सर बाइक प्राप्त गरेका छन् ।
जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव उदीयमान खेलाडी घोषित भए र पल्सरको मोटरसाइकल पाए । ट्यालेन्ट हन्टबाट आएका राहुल यादवले एनपिएलमा १२ विकेट लिएका थिए ।
यस्तै,रेड बूल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित भए । उनले नगद २ लाख हात पारे ।
च्याम्पियन टोली सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए । उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेता सुदूरपश्चिमले १ करोड ५० लाख, उपविजेता लुम्बिनले ६० लाख, तेस्रो बनेको चितवनले ३० लाख र चौथो बनेको काठमाडौंले २० लाख रुपैयाँ पुरस्कार पाए । उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड पनि प्राप्त गर्यो ।
