इङ्लिस प्रिमियर लिग क्लब चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी कजाकिस्तानी क्लब अस्टानालाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
अस्टानाको घरेलु मैदानमा भएको खेलमा सबै गोल पहिलो हाफमा भएको थियो ।
चेल्सीको जितमा मार्क गुड्यु र रेनाटो भेइगाले समान एक-एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती उपहार पाएको थियो । पराजित अस्टानाका लागि भने मार्टिन टोमासोभले एक गोल फर्काए ।
खेल सुरु भएको १४ औं मिनेटमा पेड्रो नेटोको पासमा गुड्युले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै १८ औं मिनेटमा अस्टानाका मारोच्किनले आत्मघाती गोल गर्न पुग्दा लण्डन क्लब २-० ले अघि बढ्यो ।
यता, ३९ औं मिनेटमा रेनाटो भेइगाले गोल थप्दा चेल्सी ३-० ले अघि बढ्यो । पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा कार्लो बार्टोलेकको पासमा टोमासोभले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल ३-१ को स्थितिमा आयो ।
सहज जितसंगै चेल्सीले ५ खेलबाट शतप्रतशत जितका साथ १५ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । हारसंगै अस्टानाको ५ खेलबाट ४ अंकसहित लिग तालिकाको २८ औं स्थानमा झरेको छ ।
