माल्दिभ्समा सम्पन्न १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियन्सिपका पदक जित्ने नेपालका चार खेलाडीलाई बुधबार भब्य स्वागतसहित सम्मान गरिएको छ ।
बुधबार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई फूलमाला र अवीरले स्वागत गर्नुका साथै नगर परिक्रमा पनि गराइएको थियो ।
कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपालका ६ बडिबिल्डरले प्रतिस्पर्धा गरेका थिए । जसमा तीमध्ये चार जना पदक जित्न सफल भए । नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र समन मुलगुठीले नेपाललाई रजत पदक दिलाएका थिए ।
प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत पदक जितेका थिए ।
प्रतियोगितामा ललित धिमाल र रन्जित आचार्यले पनि प्रतिस्पर्धा गरेका थिए । उनीहरु पदकबिहिन भए । कुल ४१ राष्ट्रका ३०० जना खेलाडीले च्याम्पियनसिपको ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।
