पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको १ सय ८० रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनाउन सफल भयो । नेपालका लागि भरत थापाले ३१ तथा नरेश चौधरीले १९ रन बनाए । बंगलादेशका लागि अस्मत अलिले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १ सय ७९ रनको योगफल तयार गरेको थियो । बंगलादेशका लागि आरिफ हुसेनले ५४ तथा मोहम्मद सलमानले ३४ रन बनाए । नेपालका लागि सुनिल मगर, भरत थापा, अमिस गुरागाइ र दुर्गादत्त पौडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा सोमवार अफगानिस्तानसंंग खेल्नेछ ।
