युएईमा हुने अरब क्लासिक बेसबल लिगमा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।
राजधानी आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना मास्के श्रेष्ठले टोलीलाई बिदाई गरिन् । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामनासमेत दिइन् ।
मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रको सहभागी रहने अरब क्लासिक बेसबल लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा हुँदै छ ।
निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ जाँदै छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित प्यालेस्टाइन, श्रीलंका र साउदी अरेबिया छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र युएईले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलको रुपमा शुक्रबार प्यालेस्टाइनसँग खेल्नेछ ।
