नेपालले बहराइनमा सम्पन्न आईएसएफ जिम्नासाइड समर गेम्समा ३ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेर कुल ७ पदक प्राप्त गरेको छ।
नेपालले पाँच खेलमा सहभागिता जनाए पनि बक्सिङ र तेक्वान्दोमा मात्र पदक जित्न सफल भयो। यस प्रतियोगितामा नेपालले टेबलटेनिस, ब्याडमिन्टन, र पुरुष श्री बाइ थ्री बास्केटबलमा पनि भाग लिएको थियो।
बक्सिङमा नेपालले २ स्वर्ण र २ कांस्य जित्यो। पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जित्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गरे। पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कांस्य पदक हात पारे।
तेक्वान्दोमा उज्ज्वल वाग्लेले ६८ केजीमुनि स्वर्ण जित्दै र पुरुष एकल पुम्सेमा रजत जित्दै दोहोरो पदक हासिल गरे। महिला एकल पुम्सेमा निविता केसीले कांस्य पदक प्राप्त गरिन् । २० औं संस्करणको यो यु-१८ उमेर समूहको प्रतियोगितामा नेपालबाट ५ खेलमा ३२ खेलाडीले भाग लिएका थिए। प्रतियोगितामा बक्सिङ र तेक्वान्दोमा समान ५-५ खेलाडी, टेबलटेनिसमा ६, पुरुष श्री बाइ थ्री बास्केटबलमा १५ खेलाडी (४ टिम), र ब्याडमिन्टनमा १ खेलाडी सहभागी थिए।
बहराइनको मानामामा भएको यस प्रतियोगितामा ६९ राष्ट्रका कुल ३ हजार ७१४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। आयोजक बहराइनले सबैभन्दा बढी ३६१ खेलाडी सहभागी गराएको थियो भने लक्जमबर्ग, मोन्टेनेग्रो, ताजकिस्तान, र टोगोबाट मात्र २-२ खेलाडी सहभागी थिए।
बहराइनस्थित नेपाली दूतावासले पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार एक समारोहबीच सम्मान गरेको छ। कार्यक्रममा नेपालका राजदूत तीर्थराज वाग्लेले पदक विजेता खेलाडीहरूलाई बधाई दिंदै राष्ट्रको प्रतिष्ठा बढाएको भन्दै प्रशंसा गरे।
अर्को संस्करणको आयोजना साउदी अरेबिया, अजरबैजान र दुबईले प्रस्ताव गरेका छन्, र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले तेक्वान्दो विकासको लागि विश्व तेक्वान्दो (WT) सँग सम्झौता गरेको जानकारी गराएका छन्।
