मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा सम्राटले पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीलाई ५-२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको छैटौं र ३८ औं मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे । त्यस्तै, १२ औं मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एकएक गोल गरे ।

सुकुना युनाइटेडका लागि खेलको १३ औं मिनेटमा शौरभ विश्वास र ५२ औं मिनेटमा हेमराज भुजेलले एकएक गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच सम्राट स्पोर्टिङका दुई गोलकर्ता उमेश कार्की भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

भोलि हुने अन्तिम क्वार्टर फाइनल खेल विराटनगरस्थित नेपाल प्रहरीको टिम र रेड हर्स एफसी इलामबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *