इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा रोमालाई पराजित गरेको छ ।
आइतबार राति इन्टर मिलानले रोमालाई उसैको मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा लौटारो मार्टिनेजको गोल निर्णायक बन्यो ।
निकै रोमाञ्चक खेलमा दोस्रो हाफमा मात्रै गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न हुँदा मार्टिनेजले ६०औं मिनेटमा एक गोल गरेका थिए । त्यही गोल खेलमा निर्णायक बन्यो ।
जितपछि इन्टर दोस्रो स्थानमा उक्लिएको छ । ८ खेलबाट १७ अंक जोडेको छ । समान खेलबाट १९ अंक जोडेको नापोली शीर्ष स्थानमा छ । १६ अंकको युभेन्ट्स तेस्रो स्थानमा झर्यो । १० अंक जोडेको रोमा भने दशौं स्थानमै छ।
