फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर ७ सोमबार नेपाल भ्रमण गर्ने कार्यक्रम रद्ध भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण गर्दा आफू पनि त्यसमा संलग्न हुनुपर्ने लगायतका कारणहरुले इन्फान्टिनोको भ्रमण रद्ध भएको बताइएको छ ।
एन्फा स्रोतले जानकारी गराएअनुसार फिफा अध्यक्षको भ्रमण दौरान नेपाली फुटबल पदाधिकारीसँग छलफको एजेन्डा एन्फाले प्रष्टसँग पठाउन नसकेका कारण पनि फिफा असन्तुष्ट भइरहेको थियो ।
यसका साथै नेपालमा गत साता गएको बाढी पहिरोका कारण यहाँको अवस्था सहज नभएको कारण पनि इन्फान्टिनोले अहिलेको समय नेपाल भ्रमणका लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ ।
गत साता तीन दिन परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर नेपालमा सयौं जनाको ज्यान गइसकेको छ । पहिरोमा पुरिएर एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरिरहेको एकेडेमीमा रहेका ६ बालकको पनि ज्यान गएको थियो । एन्फाको लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको भन्दै देशभित्र व्यापक आलोचना भइरहेको छ।
फिफा अध्यक्ष इन्फान्टिनोको भ्रमण रद्ध भएपछि एन्फाले सोल्टी होटलमा उनीलगायत फिफा प्रतिनिधि मण्डलका लागि बुक गरेको कोठाहरु रद्ध गरेको जानकारी होटल स्रोतबाट प्राप्त भएको छ ।
भुटानको औपचारिक भ्रमणमा निस्कने क्रममा इन्फान्टिनोसहित १७ सदस्यीय फिफाको प्रतिनिधि मण्डलले १२ घण्टा काठमाडौंमा बिताउने कार्यक्रम थियो । निर्धारित कार्यक्रमअनुसार निजी बिमानमा इन्फान्टिनोको टोली यही अक्टोबर ७ तारिकमा बिहान ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो ।
काठमाडौंमा १२ घण्टा बिताएपछि दिउसो ३ बजे इन्फान्टिनोसहितको टोली भुटान जाने कार्यक्रम थियो । भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरिक्षण गर्ने र भुटानभित्र फुटबल विकासका लागि उच्चस्तरीय भेटघाट मार्फत योजना बनाउने कार्यक्रम छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ भने बढी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फान्टिनोको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको बताउँछन् ।
‘अहिले देश शोकमा डुबिरहेको छ । यस्तो अवस्थामा फिफा इन्फान्टिनोलाई बोलाएर भ्रमण गराउनु उपयुक्त नलागेर रद्द गरेका हौं,’ अध्यक्ष नेम्वाङले भने, ‘अरु त्यस्तो केही कारण छैन । अवस्था सामान्य भएपछि उनलाई नेपाल भ्रमणमा ल्याउने प्रयास गर्नेछौं ।’
