इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डविरुद्ध म्यान्चेस्टर युनाइटेडले पुनारगमन जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २– १ गोल अन्तरले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गार्नाचो र राम्मस होज्लन्डले १/१ गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा पिनोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएको थिए । तर, खेलको ४७ औं मिनेटमा अलेजान्द्रो गार्नाचोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा राम्मस होज्लन्डले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।
जितसँगै युनाइटेडले ८ खेलमा ११ अंक जोडेको छ । युनाइटेड १०औं स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड समान खेलबाट १० अंकका साथ १२औं स्थानमा छ ।
शनिबारनै भएको अर्को खेलमा एस्टन भिल्लाले फुलह्याममाथि ३-१, ब्राइटनले न्युक्यासल युनाइटेडमाथि १-०, लेस्टर सिटीले साउथ ह्याम्पटनमाथि ३-२ र एभरटनले नवप्रवेशी टोली इप्सविच टाउनमाथि २-० गोलको जित हात पारेका छन् ।
