अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट आफैंले विक्री गर्ने भएको छ ।
एन्फाले मंगलबार माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै आफैं टिकट विक्री गर्ने जानकारी दियो । माउन्ट एभरेस्टले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार प्राप्त गरेको थियो ।
टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने छ । टिकट विक्री बुधबार बिहान ८ बजेबाट सुरु हुनेछ ।
एन्फाले साधारण प्यारापिटतर्फ १० हजारमात्र टिकट विक्री गरिने बताएको छ । यसअघि नै ४ हजार एक सय टिकट विक्री भइसकेकाले अब ५ हजार ९०० वटा मात्रै टिकट बाँकी रहेको एन्फाले जनाएको छ । एक जनाले साधारणतर्फ पाँच र भिआइपीतर्फ दुई वटा मात्रै टिकट लिन पाउने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भातरबीचको सेमिफाइनलमा क्षमताभन्दा बढी टिकट विक्री भएको र त्यसको छानबिन जारी रहेको भन्दै एन्फाले सोमबार टिकट विक्रीमा रोक लगाएको थियो ।
म्याच रिपोर्ट अनुसार आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको थियो ।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ ।
