ललित स्मृति यु-१८ लिगमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मनाङ मर्स्याङदी क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले थ्री स्टार क्लबविरुद्ध ३-१ को पुनरागमन जित निकालेको छ ।

खेलको तेस्रो मिनेटमै रोमन श्रेष्ठको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा दक्ष लामाले दुई गोल गर्दै आर्मीलाई २-१ ले अगाडि बढाए । अनुभव पुरीले ७२औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलाे जित दिलाए ।

आर्मीको जारी लिगमा यो पहिलो जित हो । पहिलो जितसँगै आर्मीले ५ खेलबाट ४ अंक जोडेको छ । यता पराजित थ्री स्टारको पनि समान खेलमा ४ अंक रहेको छ ।

त्यसैगरी दिनको दोस्रो खेलमा एफसी खुमलटारविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै मनाङ मर्स्याङदी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

खेलको सातौ मिनेटमा शंकर नेपालीको गोलमार्फत खुमटारले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ६ मिनेटपछि नै सागर मगरले मनाङका लागि बराबरी गरेका थिए ।

निशान राज लावतले ७३औं मिनेटमा गोल गर्दा मनाङ २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै विशाल चन्दले गोल गर्दै टोलीलाई जित दिलाए ।

जित पछि ५ खेलमा १२ अंक बटुल्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ । पराजित खुमलटार भने समान खेलबाट ३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *