अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १०० मिटर बटरफ्लाइमा अजलले ५९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे ।

अजलले सुब्बाले २५औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको ५९.७७ सेकेन्डको कीर्तिमान ताडेका छन् ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइमा २५.५२ सेकेन्डको नयाँ कीर्तिमान राष्ट्रिय कायम गरेका थिए । अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

प्रतियोगितामा जम्मा तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३औं दक्षिण एसियाली खेलकुदमा शुभम शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो स्थान हासिल गरेका छन्

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतेको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्टसको २०० मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।

दुई दिने प्रतियोगितामा ३५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *