बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार गोलबजार स्पोर्टस क्लबविरुद्ध ४-१ को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन अनिल रानमगरले दुई तथा सिर्जनराज गौतम र राज भुसालले समान एक गोल गरे । गोलबजारका लागि विनु आलेमगरले एक गोल फर्काए ।
जितसँगै शीर्ष स्थानको बागमतीले १२ खेलमा २९ अंक जोडेको छ । बागमती ‘बी’ डिभिजनमा उक्लिने पक्का भइसकेको छ । हारसँगै रेलिगेशन नजिक पुगेको गोलबाजर समान खेलबाट सात अंकका साथ पुछारमा छ ।

खेलको ११औं मिनेटमा अनिलको गोलमार्फत बागमतीले अग्रता लिए । गोलबजारका गोलकिपर अविनय कोइरालाले राज भुसाललाई लडाएपछि बागमतीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सिर्जनले २८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । निङ्गमा घिसिङको क्रसलाई नियन्त्रणमा लिँदै सिर्जनले एकल प्रयासमा गोल गरे ।
अनिलले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । अनिलले राजको पासलाई पोस्टको दिशा दिए । एक मिनेटपछि नै राजले गोल गर्दा बागमती ४-० ले अगाडि बढ्यो । इन्जुरी समयमा विनुले पेनाल्टीमार्फत गोल गरेपछि खेल ४-१ को स्थितीमा सकियो । निङ्गमा घिसिङले विनुलाई नै लडाएपछि गोलबजारले पेनाल्टीको अवसर पाएको थियो ।
बुधबार नै सम्पन्न खेलमा खालीबारी युवा क्लबले मनोहरा युनाइटेडविरुद्ध १-० को कठिन जित निकाल्यो ।
