काठमाडौं । नेपालमा व्यावसायिक कम्ब्याट स्पोट्र्स अर्थात् मार्सल आर्ट्सलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ ।
फ्युजन फाइटको आयोजनामा आगामी अक्टोबर १० अर्थात् असोज २४ गते काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी)मा आयोजना हुने बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
प्रतियोगितामा मुवाथाईका नियमअनुसार कुल ११ वटा रोमाञ्चक भिडन्त हुनेछन् । प्रतियोगितामा नेपालका २२ जना उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्तलाई लिइएको छ ।
सुष्मा र रजिनाको यो अगाडी २ चोटि भिडन्त भैसकेको छ र दुवैले एक-एक चोटि जितेका छन् । मुवाथाई थाइल्यान्डमा विकसित भएको प्रख्यात युद्धकला तथा कम्ब्याट स्पोर्ट्स हो ।
यसमा मुक्का, कुहिनो, घुँडा र खुट्टाको प्रहार प्रयोग गरिन्छ। पछिल्लो समय नेपालमा पनि मुवाथाईप्रति खेलाडी तथा दर्शकको आकर्षण बढ्दै गएको छ । मुख्य स्पर्धामा विजेताले एक लाख तथा उपविजेता ५० हजार पाउने आयोजकले जनाएको छब। जसमा सुष्मा र रजिनाको खेल रहेको छ। यस्तै, मुख्य स्पर्धा बाहेक प्रतिस्पर्धाहरु प्रतिस्पर्धात्मक रहेको छन् । जसमा १३ बर्षका पुष्कर मल्लले १६ बर्षका सम्योक राईसँग भिड्नेछन् । १३ बर्षका भएका भए पनि ५ वटा फाइट खेलेका छन् । जसमा ४ मा जित हासिल गरेका छन् ।
सम्योगले ५ खेलमा पाँचौं खेल जितेका छन् । यस साथै प्रशान्त तामाङ (१६-७) कर्ण बहादुर मगराती (७-३) सँग भिड्ने छन् भने भोला कुमार राई (६-०) पेम्बा छिरी शेर्पा सँग भिड्ने छन् । एल्लेन थकाली (३-२) को प्रतिस्पर्धा अब्राम राई (१५-२) सँग छ भने मोसेस कुमाल (३-२) गौतम थिङ (६-२) सँग खेल्ने छन् । धर्मेन्द्र राम (८-०) को फाइट सुमन याक्खा (०-२) विरुद्ध छ भने आशिक कोलि (२-०) जितेन्द्र राई (३-६) सँग खेल्दै छन्। विशाल लामा (५-१) योमन मोक्तान (५-३) सँग र कुशल तामाङ (४-१) मन्दिप क्षेत्री (३-०) सँग भिड्नेछन् । सुरज सिंह ठकुरी (४-३) सोहन थापा (३-२) सँग खेल्नेछन् ।
आयोजकले विगतका कम्ब्याट स्पोर्ट्स प्रतियोगिताभन्दा ‘फ्युजन फाइट च्याप्टर–१’लाई अझ व्यावसायिक र व्यवस्थित रूपमा प्रस्तुत गर्ने जनाएको छ । प्रतियोगिताका लागि एलओडीमा विशेष रिङ तथा प्रकाश व्यवस्थासहित उच्चस्तरीय उत्पादनको तयारी गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगितालाई दर्शकले प्रत्यक्ष रूपमा कान्तिपुर म्याक्स एचडी र डिजिटल ओटीटी प्लेटफर्म म्याक्स अनमार्फत हेर्न सक्नेछन्। त्यस्तै, कार्यक्रमस्थलमै पुगेर प्रतियोगिता हेर्न चाहने दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्नेछन् । आयोजकले ‘फ्युजन फाइट च्याप्टर–१’लाई नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्सको विकास र विस्तारका लागि महत्त्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाउन लागेको जनाएको छ । प्रतियोगितामार्फत नेपाली खेलाडीलाई उच्चस्तरीय मञ्च प्रदान गर्नुका साथै मुवाथाई खेललाई थप लोकप्रिय बनाउने लक्ष्य राखिएको छ ।
