स्पेनिस ला लिगा फुटबलमा सिजनको ३७ औं साताको खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ ।
आइतबार मध्यराति भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रायो भालेकानोमाथि ३-० को शानदार जित निकाल्यो । बार्सिलोनाको जितमा मिडफिल्डर पेड्री हिरो बने, जसले यस खेलमा २ गोल गरेर महत्त्वपूर्ण योगदान दिए ।
बार्सिलोनाले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर खाता खोलेको थियो। लामिन यामलको पासमा रोवर्ट लेवानडोस्कीले गोल गरेका थिए । त्यसपछि दुवै गोल पेड्रीले गरे । उनले ७२औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो गोल त्यसको ३ मिनेटमै गरेर टिमको ३-० को जित पक्का गरे । पेड्रीको दोस्रो गोलमा रोनाल्ड अराउजोले लामो दूरीबाट उत्कृष्ट पास मिलाएका थिए ।
अब यो जितपछि बार्सिलोनाले ३७ खेल सकिँदा कूल ८२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बार्सिलोना यो सिजन ला लिगाको उपविजेता बनिसकेको छ । बार्सिलोनाले जिरोनालाई पछि पारेर दोस्रो स्थान सुरक्षित गरिसकेको हुँदा जिरोना भने यस सिजन तेस्रो स्थानमा मात्रै रहनेछ ।
