स्पेनिस महारथी रियल मड्रिड ला लिगाअन्तर्गत खेलमा भिल्लारियलसंग बराबरीमा रोकिएको छ ।

आईतवार राति भएको खेलमा ला लिगा विजेता रियल मड्रिड भिल्लारियलसंग ४-४ को बराबरीमा रोकिएको हो ।

भिल्लारियलको घरेलु मैदान इस्टाडियो दि ला सेरामिका रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि एलेक्सान्डर सोर्लोथले चारै गोल गर्दा भ्रमणकारी टोली मड्रिडका लागि अर्डा गुलेरले दुई, जोसेलु र लुकास भाजक्वेजले एक-एक गोल गरे ।

खेल सुरु भएको १४ औं मिनेटमा ब्राहिम डाइजको पासमा गुलेरले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ३० औं मिनेटमा भाजक्वेजको पासमा जोसेलुले गोल थप्दा मड्रिड २-० ले अघि बढ्यो ।

तर, ३९ औं मिनेटमा घरेलु टोलीका लागि यारसन मोस्क्वेराको पासमा सोर्लोथले गोल फर्काउँदा खेल २-१ को अवस्थामा आयो ।

त्यसको एक मिनेटपछि नै डाइजको पासमा भाजक्वेजले गोल थप्दा मड्रिड ३-१ ले अघि बढ्यो

यता, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा भाजक्वेटको पासमा गुलेरले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मड्रिड ४-१ को आरामदायी अग्रतातर्फ अघि बढ्यो ।

तर, दोस्रो हाफको ४८, ५२ र ५६ औं मिनेटमा सोर्लोथले गोल फर्काउँदा खेल ४-४ को बराबरीमा सकियो ।

बराबरीसंगै मड्रिडले ३७ खेलमा ९४ अंक जोडेको छ।

यता, भिल्लारियलले भने समान खेलमा ५२ अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *