फ्रान्सको क्लब पिएसजी जारी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।
जर्मनीको क्लब बोरुसिया डर्टमुन्डले पिएसजीमाथि एग्रीगेटमा २-० को एकपक्षीय जित निकाल्दै फाइनल प्रवेश गरेको छ । यसको अर्थ पिएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक आफ्नै घरमा खरानी भएको छ । डर्टमुन्डसँग पिएसजी अवे र होम दुवै लेगका खेलमा पराजित भयो ।
यसअघि डर्टमुन्डको घरमा भएको पहिलो लेगमा पनि पिएसजी १-० ले हारेको थियो । आज आफ्नो घरमा पुनरागमन जितको खोजीमा रहेको पिएसजी फेरि १-० ले पराजित भयो । आफ्नो घरेलु मैदानमा पनि नतिजा उल्ट्याउन नसक्दा पिएसजी पाहुना टोली डर्टमुन्डसँग समग्रमा २-० ले पराजत हुँदै सेमिफाइनलबाट आउट भएको हो । डर्टमुन्ड भने सिजन २०१२-१३ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको छ ।
पार्क डे प्रिन्सेस रंगशालामा भएको खेलमा पिएसजीले खेलमा ज्यादा पकड राखेर खेले पनि गोल गर्न सकेन । गोल खाएपछि पिएसजी समग्रमा २ गोलले पछि पर्दा उसको खेलमा फर्किने सम्भावना झनै कठिन बनेको थियो । यस खेलमा पिएसजीका जम्मा ४ सट पोल र बारमा लागेर बाहिरिएका थिए । रक्षात्मक खेल खेलेको डर्टमुन्डले पिएसजीलाई दुवै लेगमा १ गोल पनि गर्न नदिई २-० को सहज जितका साथ उपाधि नजिक पुगेको छ ।
