काठमाडौँ। असन्तुष्ट ‘बी’ डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बोलाएको बैठक बहिस्कार गरेका छन्।
एन्फाले आगामी वर्ष हुने शहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना र सञ्चालनका लागि मंगलबार दिउँसो १ बजे बैठक बोलाएको थियो।
उक्त बैठकमा सहभागिता जनाउन भन्दै ‘बी’ क्लबका प्रतिनिधि दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए।
तर, अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अनुपस्थित भएपछि बैठक बहिस्कार गरिएको सरस्वती यूथ क्लबका अध्यक्ष शिक्षित पराजुलीले जानकारी दिए।
‘हामी बैठक बस्न भनेर एन्फा पुगेका थियौं। तर, जरुरी कुरामा अध्यक्ष र महासचिव उपस्थित नभई सीईओ इन्द्रमान तुलाधरको अध्यक्षतामा बैठक बस्नु भनेर पत्र दिइएको रहेछ,’ उनले खेलपाटीसँग भने, ‘उहाँ आधिकारिक व्यक्ति होइन । अहिले गरेको निर्णयमा भोलि आधिकारितक्ताको खोजी हुनसक्छ त्यसैले हामीले बैठक बस्न अस्वीकार गयौँ।’
एन्फा स्रोतका अनुसार अध्यक्ष नेम्वाङ ५ दिनदेखि एन्फा कम्प्लेक्स पुगेका छैनन्। महासचिव किरण राई भने गृह जिल्ला उदयपुर गएका छन्। एन्फाले अघिल्लो वर्ष पटकपटक मिति तोकेर पनि ‘बी’ डिभिजन लिग गर्न सकेको थिएन।
क्लबहरूले पाउनुपर्ने बक्यौता रकम तत्काल दिनुपर्ने, गत वर्ष लिगको मिति तोकेपछि आफूहरूले गरेको तयारीको दिनुपर्नेलगायतका माग राख्दै आएका छन्।
