धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको १६ औं मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्बिनी क्लबका जर्सी नम्बर २ का विवेक गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुऱ्याएका थिए ।

निर्धारित समय बराबरीमा टुंगिएको खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । आजको खेलमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ लगाएका खेलाडी उमेश राई उत्कृष्ट खेलाडी घोषित भए ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिम सहभागी रहेको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *