म्यानचेस्टर सिटीका ब्राजिलीयन गोलरक्षक एडरसन मोरेसले इङ्लिस प्रिमियर लिगको अन्तिम र एफए कपको फाइनल खेल गुमाउने भएका छन्।
टोटेनह्याममाथि २-० को जित हात पार्ने क्रममा क्रिस्टियन रोमेरोसँग ठोक्किँदा एडरसन घाइते भएका थिए। उनको दाहिने आँखाको सकेट भाँचिएको बताइएको छ। सिटीका अनुसार उनको आँखाको बिहीबार स्क्यान गरिएको थियो।
‘चोटका कारण एडर्सनले सन् २०२३-२४ को सिजनका बाँकी खेलमा खेल्न पाउने छैनन्,’ सिटीले भनेको छ। सिटीले आइतबार घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्नेछ।
लगातार चौथो पटक उपाधि पक्का गर्न यो खेलमा जित आवश्यक छ। त्यसपछि सिटीले २५ मेमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।
जुन र जुलाईमा अमेरिकामा हुने कोपा अमेरिकाका लागि उनलाई ब्राजिलको टोलीमा समावेश गरिएको थियो।
