स्पेनिस क्लब रियल मड्रिड घरेलु लिग ला लिगा फुटबलको उपाधिको संघारमा पुगेको छ ।
रियलले आज ३४औं साताको खेलमा क्याडिजमाथि ३-० को जित निकाल्दै उपाधिको मुखमा पुगेको हो । यदि दोस्रो स्थानको बार्सिलोनाले आजै राति आफ्नो खेलमा जिरोनासँग बराबरी मात्रै खेले रयल आजै राति ला लिगाको च्याम्पियन हुनेछ, आधिकारिक रूपमै । यदि बार्सिलोनाले जित्यो भने रियलले उपाधि आफ्नो नाममा लेखाउन अर्को खेलसम्म पर्खिनुपर्छ ।
आज शनिबार राति आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउ रंगशालामा भएको खेलमा रियलको जितमा २ खेलाडीले गोल गरे । पहिलो गोल ५१औं मिनेटमा युवा खेलाडी ब्राहिम डियाजले गरे । लुका मोड्रिचको उत्कृष्ट क्रस पासमा डियाजले सुन्दर गोल गरे टिमको खाता खोलेका थिए । त्यसपछि ६८औं मिनेटमा जुड बेलिङ्ङ्घमले अर्को गोल गर्दै टिमको अग्रता बढाए । उनको गोलमा पहिलो गोलकर्ता डियाजले उत्कृष्ट पास मिलाएका थिए ।
त्यसपछि इन्जुरी समयमा कप्तान नाचोको पासमा जोसेलुले अर्को गोल थपेपछि रियल घरमा ३-० ले विजयी भयो । यो जितपछि रियलको खातामा ३४ खेलपछि कूल ८७ अंक भएको छ । आजै राति आफ्नो खेल खेल्न लागेको बार्सिलोनाको खातामा ३३ खेलबाट ७३ अंक छ ।
