अन्तिम खेलमा पनि बागमती पराजित

२०८१, १९ बैशाख बुधबार १५:३०

एन्फा महिला लिग छनोटमा बागमती प्रदेश जितविहिन बनेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार सम्पन्न आफ्नो अन्तिम खेलमा बागमती कोशी प्रदेशसँग २-१ ले पराजित भयो ।

जितसँगै ६ खेलमा १६ अंक जोडेको कोशी शीर्ष स्थानमा रह्यो । अपराजित एक मात्र टोली कोशीले पाँच जित र एक बराबरीको नितजा निकल्यो । ६ वटै खेलमा पराजित बागमती अंकविहिन बन्यो ।

कोशीलाई जित दिलाउन दुवै गोल पूर्णिमा राईले गरिन् । बागमतीका लागि अनु भुसालले एक गोल फर्काइन् ।

खेलको १९औं मिनेटमा पूर्णिमाको गोलमार्फत कोशीले अग्रता लियो । ३९औं मिनेटमा पूर्णिमाले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

६३औं मिनेटमा अनुले गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त बन्न सकेन ।

प्रतियोगिताका ६ खेलमा मात्र चार गोल गरेको बागमतीले २१ गोल ब्यहोर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *