प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा आयोजक प्रकाशपुर युवा जमात सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा इटहरी फुटबल क्लब, सुनसरीलाई ३-० को गोल अन्तरले पराजित गर्दै प्रकाशपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
प्रकाशपुरको जितमा विदेशी खेलाडी सोलोमनले दुई गोल गर्दा राम वाजीले एक गोल थपे । खेलको म्यान अफ दि म्याच प्रकाशपुरका राम वाजी घोषित भए । उनलाई ट्रफीसहित नगद रु. २,५०० प्रदान गरियो ।
अब प्रकाशपुरले फाइनल प्रवेशका लागि बुधबार गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल गछिया युवा समाज, गछिया, मोरङ र फेयर फुटबल क्लब, धरान, सुनसरीबिच हुनेछ ।
प्रकाशपुर युवा जमातको आयोजनामा जारी प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
