विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार पथरी रङ्गशालामा भएको फाइनल खेलमा झापा-११ लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै पुलिस च्याम्पियन भएको हो ।
उपाधिसँगै पुलिसले ६ लाख र उपविजेता झापाले नगद ३ लाख रुपैयाँ हात पारे । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा पुलिसले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा पुलिसका अमित तामाङ, निरज खड्का, दशरथ गिरी, राम वजी र सुजन बलम्पाकी मगरले गोल गरे । झापाका देवेन्द्र तामाङ, प्रशान्त लक्सम, रोमन भुजेल र आशिष चापागाईँले गोल गरे भने निमा तामाङको प्रहार बाहिरिएको थियो ।
यसअघि खेलको २५औं मिनेटमा जोन विष्टले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछि खेलमा फर्किदै झापाका प्रशान्त लक्समले बराबरी गोल फर्काए ।
७३औं मिनेटमा पुलिसका सुुवास थारुले उत्कृष्ट गोल गर्दै टिमलाई पुुनः अग्रता दिलाए । तर, थारुले दिलाएको अग्रता तीन मिनेट पनि कायम रहन सकेन । अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका झापाका आशिष चापागाईले ७६औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
फाइनल खेलको म्यान अफ दि म्याच झापाका रोमन भुजेल घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर पुलिसका अमित टमाटा भए । यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार झापाका प्रताप चाम्लिङ राईले प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक पुलिसका चेतन घिमिरे र उदयीमान खेलाडी आयोजक पथरी–११ फुटबल क्लबका विशाल दर्लामी मगर भए । उनीहरु सबैले जनही १५ हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका सुजन मगर घोषित भई नगद ३० हजार पाए ।
प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरुलाई मोरङ–३ का सांसद गणेश कार्की, पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो, गृह मन्त्रायलका सचिवालय सदस्य जेम्स कार्की र क्लबका अध्यक्ष सुुमन विकले पुरस्कार प्रदान गरे ।
पथरी-११ फुटबल क्लबको आयोजनामा १७ असोजबाट सुरु भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
