काठमाडौं । सनसाइन सेकेन्डरी बोर्डिङ स्कुल र पाठशाला फाउन्डेसन नेपालले पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन् ।
बाल दीक्षा सदन स्कुलको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगिताको छात्रातर्फको फाइनलमा पाठशाला फाउन्डेसन नेपालले आरआईबीएस स्कुललाई ३२–२५ अंकले पराजित गर्दै उपाधि जित्यो ।
छात्रतर्फ सनसाइन सेकेन्डरी बोर्डिङ स्कुलले इनोभेटिभ इङ्लिस स्कुललाई २५–१७ अंकले पराजित गर्दै उपाधि उचाल्यो ।
समापन समारोहमा नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सतिश प्रधान प्रमुख अतिथि थिए। पूर्व राष्ट्रिय बास्केटबल खेलाडी सञ्जय बेन्जकार, निर्मला फाउन्डेसनकी अध्यक्ष निर्मला शर्मा तथा बाल दीक्षा सदन स्कुलका प्रधानाध्यापक शिवशंकर आलेलगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताको छात्रतर्फ सनसाइनका जेनिश तोलङ्गी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ पाठशालाकी दर्पन शर्मा सर्वोत्कृष्ट खेलाडी चुनिइन् । दुवै खेलाडीले ट्रफी प्राप्त गरे । छात्रतर्फको फेयर प्ले अवार्ड जेनियन नेसनल एकेडेमीले जित्दा छात्रातर्फ निष्ट बीले प्राप्त गर्यो ।
प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको थियो । छात्रतर्फ १३ र छात्रातर्फ १२ गरी कुल २५ टोलीले प्रतिस्पर्धा गरेका थिए । केही विद्यालयले छात्र र छात्रा दुवैतर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका थिए । बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन भएको थियो ।
