सुनसरी । धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

डी–१९ क्लब धरान–१९ को आयोजनामा कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

महिला फुटबलको विकाससँगै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र व्यावसायिक फुटबलतर्फ अघि बढाउन सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सन्तोष राईले बताए ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपालका एपीएफ, नेपाल आर्मी, नेपाल पुलिस, बागमती फुटबल क्लब, काँकडभिट्टा वुमन्स फुटबल क्लब, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लबसहित भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब गरी आठ टोली सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *