विराटनगर । विराटनगरमा आजदेखि एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन दुई खेल सम्पन्न भएका छन् ।
बिहीवार सहिद मैदानमा भएको पहिलो खेलमा अर्किड स्कुल, विराटनगरले दिल्ली पब्लिक स्कुल, विराटनगरलाई २–० गोलले पराजित गर्यो । अर्किडको जितमा रोहन पासवान र रिकेश बिस्वासले एक–एक गोल गरे। खेलभर उत्कृष्ट प्रदर्शन गरेको अर्किडले दुवै हाफमा प्रभाव जमाउँदै सहज जित निकाल्यो ।
त्यसैगरी, बिहीवारै सम्पन्न दोस्रो खेलमा कान्तिपुर स्कुल, विराटनगरले एभरेस्ट स्कुल, विराटनगरलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
कान्तिपुरका लागि सिद्धार्थ गुरुङले दुई गोल गरे भने राजन मण्डल, प्रज्ज्वल ठकुरी र रोहित सरदारले एक–एक गोल गरे । कान्तिपुरले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै एभरेस्टमाथि फराकिलो जित दर्ता गरेको हो ।
प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार चार खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल २२ विद्यालयका यू–१८ टोलीहरूको सहभागिता रहेको छ ।
