फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वलाई लिएर जारी विवादका बाबजुद अर्को वर्ष हुने निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने इच्छा दोहोर्‍याएका छन् ।

पोल्यान्डमा आयोजित महिला यु–२० विश्वकपका क्रममा पत्रकारहरूले उनको भविष्यबारे सोधेको प्रश्नको जवाफ दिन इन्फान्टिनोले अस्वीकार गरे । विश्वकप लगायतका फिफा प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने प्रयास गरेपछि ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोमाथि राजीनामा दिनुपर्ने चर्को दबाब छ ।

युरोपेली फुटबलको नियामक निकाय युइएफएले इन्फान्टिनोलाई पद छाड्न आह्वान गरेको छ भने एसियाली महासंघ तथा उत्तर र मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रका देशहरूको प्रतिनिधित्व गर्ने संस्था ‘कोन्काकाफ’ बाट पनि उनको विरोध भइरहेको छ ।

तर यो योजना सार्वजनिक भएयता पहिलो पटक, फिफाले अर्को वर्ष हुने निर्वाचनमा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेदवार बन्ने मनसायमा अडिग रहेको कुरा दोहोर्‍याएको छ । यदि उनी पुनः निर्वाचित भएमा सन् २०३१ सम्म विश्व फुटबलको प्रमुखका रूपमा काम गरिरहने छन् ।

फिफाका एक प्रवक्ताले भने, “फिफा अध्यक्षले अप्रिलमा घोषणा गरेका थिए कि उनी सन् २०२७ मा पुनः निर्वाचनमा उठ्नेछन् । पक्कै पनि यसमा कुनै परिवर्तन आएको छैन, इन्फान्टिनो पुनः निर्वाचनमा उठ्नेछन् ।”

कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सबैभन्दा बलिया प्रतिस्पर्धीका रूपमा हेरिएको छ । फिफाका उपाध्यक्ष समेत रहेका मोन्टाग्लियानी लामो समयदेखि इन्फान्टिनोका निकट सहयोगी मानिन्थे तर विश्वकपमा निजी लगानी भित्र्याउने (पछि रद्द गरिएको) योजनाका कारण उनीहरूबिच दूरी बढेको थियो ।

यद्यपि, इन्फान्टिनोका समर्थकहरूको पनि कमी छैन । सन् २०३४ को पुरुष विश्वकप आयोजक साउदी अरबले गत महिना उनको समर्थन गरेको थियो भने अफ्रिकी फुटबलको नियामक निकाय ‘क्याफ’  र दक्षिण अमेरिकाको ‘कोन्मेबोल’ ले पनि उनलाई नै समर्थन जनाएका छन् ।

सन् २०२७ को मार्चमा हुने निर्वाचनका लागि हालसम्मका एकमात्र घोषित उम्मेदवारका रूपमा सन् २०१६ मा सुरु भएको आफ्नो कार्यकाल लम्ब्याउन इन्फान्टिनोले फिफामा आबद्ध २११ महासंघहरूबाट सामान्य बहुमत प्राप्त गर्नुपर्नेछ । आगामी वर्षको निर्वाचनका लागि उम्मेदवारी दर्ता १८ नोभेम्बरभित्र गरिसक्नु पर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *