सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक झुम्का फुटबल क्लब ‘बी’ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पिप्राहा मैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा तालतलैया एफसी, सुनसरीलाई ३–१ ले पराजित गर्दै झुम्का अन्तिम ४ मा पुगेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै रोदन राईले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै झुम्कालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६०औं मिनेटमा अनिश राज धामीले झुम्काको अग्रता दोब्बर पारे ।
त्यसको ६ मिनेटपछि सन्दीप लिम्बुले टिमको तेस्रो गोल थपेका थिए । खेलको ७६औं मिनेटमा तालतलियाका कप्तान सबिन घिमिरे पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा झुम्का ३-१ ले विजयी भयो ।
खेलको म्यान अफ द म्याच विजेता टिम झुम्काका रोदन राई भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे । च्यालेन्ज कपमा मंगलबारको खेल राजबास युथ क्लब र झुम्का एफसी ‘ए’ बीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
झुम्का फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
