फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्पे फिफा विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट खेल प्रदर्शनका साथै निजी जीवनका कारण पनि लगातार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेका छन् । मैदानमा विपक्षी टोलीका लागि टाउको दुखाइ बन्ने गरेका एम्बाप्पेको लव लाइफ (प्रेम जीवन)लाई लिएर यतिबेला विश्वकपका दौरान व्यापक चर्चा सुरु भएको छ ।
स्पेनिस अभिनेत्री एस्टर एक्सपोसिटो र एम्बाप्पे प्रेम सम्बन्धमा रहेको भन्दै लगातार हल्लाहरू चलिरहेका छन् । प्रशंसकहरूमाझ एम्बाप्पेकी भनिएकी यी कथित प्रेमिका को हुन् र के उनी विश्वकपमा एम्बाप्पेलाई समर्थन गर्न स्टेडियम पुगेकी छन् भन्ने कौतुहलता बढेको छ ।
को हुन् एस्टर एक्सपोसिटो?
एम्बाप्पेसँग नाम जोडिएकी एस्टर एक्सपोसिटो स्पेनकी चर्चित र लोकप्रिय अभिनेत्री हुन् । उनलाई नेटफ्लिक्सको चर्चित वेब सिरिज ‘इलिट’ बाट अन्तर्राष्ट्रिय स्तरमा पहिचान मिलेको थियो । त्यसयता उनले थुप्रै चलचित्र, टेलिभिजन प्रोजेक्ट र ठूला फेसन ब्रान्डहरूसँग काम गरिसकेकी छन् । अभिनयको क्षेत्रमा उत्कृष्ट प्रदर्शनका लागि उनलाई हालै ‘इन्टरनेसनल गोल्डेन निम्फ फर मस्ट प्रमिसिङ ट्यालेन्ट’ अवार्डबाट समेत सम्मानित गरिएको थियो । सामाजिक सञ्जालमा पनि उनको निकै ठूलो फ्यान फलोइङ छ ।
सम्बन्धको आधिकारिक पुष्टि भने छैन
हालसम्म न त किलियन एम्बाप्पेले न त एस्टरले नै आफ्नो सम्बन्धलाई लिएर कुनै आधिकारिक पुष्टि गरेका छन् । तर, विभिन्न सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालका गतिविधिले उनीहरू सम्बन्धमा रहेको संकेत गर्छन् । केही समयअघि एस्टरले सामाजिक सञ्जालमा राखेको तस्बिरमा एम्बाप्पेले ‘हार्ट’ को इमोजी कमेन्ट गरेपछि उनीहरूको डेटिङको हल्लाले थप बल पाएको थियो ।
के उनी विश्वकप हेर्न रङ्गशाला पुगेकी छन्?
विभिन्न रिपोर्टका अनुसार एस्टर एक्सपोसिटो अहिलेसम्म जारी विश्वकपको कुनै पनि खेल वा प्रतियोगितासँग जोडिएका सार्वजनिक कार्यक्रममा प्रत्यक्ष रूपमा देखा परेकी छैनन् । उनको हालैका सामाजिक सञ्जाल पोस्टहरू पनि आफ्ना आगामी प्रोजेक्ट र प्रमोशनल फोटोसुटसँग मात्र सम्बन्धित छन् ।
मैदानमा फ्रान्सलाई क्वाटरफाइनलमा पुर्याउन व्यस्त रहेका र ६ गोलसहित गोल्डेन बुटको दौडमा अगाडि रहेका एम्बाप्पेको यो रोमान्टिक चर्चाले विश्वकपको माहोलमा खेल बाहिर पनि थप रोचकता थपिदिएको छ ।
