विश्वकप फुटबल २०२६ अन्तर्गत पोर्चुगल नकआउट चरण (राउन्ड अफ १६) मा प्रवेश गरे पनि टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिकालाई लिएर बहस सुरु भएको छ । स्वीडेनका लिजेन्ड स्ट्राइकर ज्लाटन इब्राहिमोविचले ४१ वर्षीय रोनाल्डोलाई मुख्य स्ट्राइकरका रूपमा मैदान उतारेर पोर्चुगलले विश्वकप जित्ने सपना देख्नु जायज नभएको टिप्पणी गरेका छन् ।

इब्राहिमोविचले रोनाल्डोको शारीरिक क्षमता र प्रदर्शनमा ह्रास आएको दाबी गर्दै उनलाई केवल ‘नाम र प्रतिष्ठा’ का भरमा टोलीमा राखिएको आरोप लगाए ।

“पोर्चुगिज समर्थकहरूले वास्तविकता बुझ्नुपर्छ । सन् २०२६ मा आएर ४१ वर्षका क्रिस्टियानो रोनाल्डोलाई आक्रमणको जिम्मा दिएर कुनै पनि उपाधि जित्ने आशा राख्न सकिँदैन,” इब्राहिमोविचले ‘गोल डटकम’ सँग भने, “यो कुनै ‘लिजेन्डरी नेतृत्व’ होइन, यो त अहंकार हो जसले सिङ्गो टोलीलाई बन्धक बनाएको छ । बेन्चमा गोन्सालो रामोसजस्ता खेलाडी हुँदाहुँदै रोनाल्डोलाई मात्रै निरन्तरता दिनु नोस्टाल्जिया (विगतको मोह) बाट प्रेरित पागलपन मात्र हो ।”

उनले रोनाल्डोले आफ्नो गति र ‘टच’ गुमाइसकेको र अहिले उनी केवल पेनाल्टी बक्सभित्र मात्र सीमित भएको समेत बताए ।

इब्राहिमोविचको आलोचनाका बीच पोर्चुगलले क्रोएसियाविरुद्ध २–१ को नाटकीय पुनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । खेलको अतिरिक्त समयतर्फ धकेलिँदै गर्दा ९४ औँ मिनेटमा राफेल लियाओको क्रसमा गोन्सालो रामोसले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए ।

खेलको सुरुवाती चरणमा पोर्चुगलका लागि बराबरी गोल भने क्रिस्टियानो रोनाल्डोले नै फर्काएका थिए । पेनाल्टीमार्फत गरिएको उक्त गोल रोनाल्डोको विश्वकप नकआउट चरणको इतिहासमै पहिलो गोल हो । आफ्नो छैटौँ विश्वकप खेलिरहेका रोनाल्डोले यसअघि नकआउट चरणमा गोल गर्न सकेका थिएनन् ।

पोर्चुगलले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी जुलाई ७ मा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *