अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आटर््स संघको आयोजनामा काठमाडौँमा आत्मरक्षा प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब १०० जना बालबालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा आत्मरक्षा मुख्य प्रशिक्षक सन्जु महर्जनको नेतृत्वमा विशेष प्रदर्शन तथा प्रशिक्षण सम्पन्न भएको थियो । साथै प्रशिक्षकहरू अर्जुन श्रेष्ठ, विष्णु राई, रबिन्द्र पोखरेललगायतले आत्मरक्षा सम्बन्धी विविध प्रविधिहरूको प्रशिक्षण तथा प्रदर्शन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ओलम्पिक मूल्य–मान्यता ‘उत्कृष्टता, मित्रता र सम्मान’ लाई आत्मरक्षासँग जोड्दै खेलकुदको सामाजिक महत्व उजागर गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उप–महासचिव रामजीबहादुर श्रेष्ठले खेलकुद केवल प्रतिस्पर्धामा सीमित नभई जीवन उपयोगी सीप विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
त्यस्तै विशेष अतिथि नेपाल हक्की संघका महासचिव सुबर्ण श्रेष्ठले आत्मरक्षा आजको समयमा अत्यन्त आवश्यक विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले खेलकुद विकाससँगै समाजमा सुरक्षा र सचेतना बढाउन योगदान पु¥याउने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा आत्मरक्षा मुख्य प्रशिक्षक सन्जु महर्जनले आत्मरक्षा र ओलम्पिक स्पिरिट एक–आपसमा सम्बन्धित रहेको उल्लेख गर्दै खेलकुदले आत्मअनुशासन, आत्मविश्वास र जीवन रक्षा क्षमताको विकास गर्ने बताउनुभयो । कार्यक्रमले बालबालिकामा आत्मरक्षा सचेतना अभिवृद्धि गर्दै सुरक्षित र सक्षम समाज निर्माणमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
