बेलायतमा रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई समेटेर आयोजना भइरहेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
नेपाल बास्केटबल लिग यूकेले वुमेन बलर्स क्लबको सहकार्यमा लन्डनको फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा आयोजना गरेको क्वार्टरफाइनल खेलहरू सम्पन्न भएसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।
गत १५ मार्च २०२६ देखि सुरु भएको प्रतियोगितालाई नेपाल बाहिर नेपाली समुदायद्वारा आयोजना गरिने सबैभन्दा ठूला बास्केटबल प्रतियोगिताहरूमध्ये एक मानिन्छ, जसले यतिबेला बेलायतभरका बास्केटबल प्रेमीहरूको ध्यान विशेष रूपमा आकर्षित गरिरहेको छ ।
प्रतियोगिता अन्तर्गत गत आइतबार आयोजित क्वार्टरफाइनलका चार खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे । पहिलो खेलमा स्यान्डहस्र्ट निक्सले नर्थोल्ट फ्ल्यामर्समाथि १०४–५२ को फराकिलो अन्तरले जित दर्ता ग¥यो । यस्तै, ग्रीनफोर्ड नाइट्सले ग्रीनफोर्ड रोभर्सलाई ८५–७३ ले पराजित गर्दा बलर्स स्ल्यामर्सले डीबीएसमाथि ९६–९१ को निकै प्रतिस्पर्धात्मक जित निकाल्यो । अन्तिम क्वार्टरफाइनल खेलमा ह्याम्पशायर हुपर्सले कोलचेस्टर इलिटलाई ९१–५८ अङ्कले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
यसपटक पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । क्वार्टरफाइनलमा विजयी भएका चार टोलीबीच यही आइतबार (२१ जुन) फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमै सेमिफाइनल भिडन्त हुनेछ । पहिलो सेमिफाइनलमा स्यान्डहस्र्ट निक्स र ह्याम्पशायर हुपर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्स र बलर्स स्ल्यामर्स आमनेसामने हुनेछन् । लिग संयोजक सार्थक गुरुङका अनुसार सेमिफाइनल खेलहरू प्रतियोगिताकै उच्चस्तरीय र कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस पाँचौँ संस्करणको भव्य फाइनल खेल आगामी ४ जुलाई २०२६ मा लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा हुने तालिका छ ।
नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको निरन्तर उत्साह र दर्शकहरूको उल्लेखनीय समर्थनबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । उनले प्रतियोगिताको मुख्य प्रायोजक ए स्टार मोर्टगेजेस तथा ए स्टार फाइनान्सियल सोलुसन्स यूकेसहित सम्पूर्ण सहयोगी संघसंस्थाहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।
