धनकुटा । धनकुटाको सिधुवामा जारी दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगितामा पाख्रीबास नगरपालिका, छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा पाख्रीबासले महालक्ष्मी नगरपालिकालाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ पाख्रीबासका लागि अर्पन तामाङ र उज्ज्वल भण्डारीले गोल गरेका थिए भने महालक्ष्मीका लागि बिबश गुरुङ र बिनोद क्षेत्रीले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पाख्रीबासका अर्पन तामाङ घोषित भए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
दिनको तेस्रो क्वाटरफाइनलमा छथर जोरपाटीले साँगुरीगढी गाउँपालिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । छथर जोरपाटीको जितमा बिक्रम लिम्बुले दुई गोल गर्दा थप एक गोल पर्वत दाहालले गरे । उता पराजित साँगुरीगढीका लागि भने संगम राईले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच छथर जोरपाटीका बिक्रम लिम्बु चुनिए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी चौथो क्वाटरफाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । धनकुटालाई जित दिलाउन दिपु शाक्य र संजय रमतेलले गोल गरे । खेलमा धनकुटाका पदम भट्टराई म्यान अफ दि म्याच घोषित भए । उनले पनि नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
सिधुवा सिंहदेवि युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
